बि.स. २०३६ सालमा भारतको गुजरात प्रान्तको गान्धीगाँवमा जन्म भई तनहुँ जिल्लाको बन्दिपुर गा.प मा जीवनरुपी रथ गुडाईरहेकी माया श्रेष्ठको । आमा बाबुको एक्ली छोरीको रुपमा भारतको एउटा सम्पन्न परिवारमा उनी जन्मेकी थिईन् । आमाको दुधको स्वाद कस्तो हुन्छ भन्ने नजान्दै जन्मेको छैठौं दिन मायाको आमाले उनी लगायत यो धर्ती छाडेर जानुभयो । मामाघरको हजुरआमाले त्यो दुधे बालिकलाई आफूसंगै राख्ने निणर्य गर्नु भयो । जन्मदै निकै कमजोर रहेकी उनी,त्यसमाथी आमाको दुध खान नपाएको कारणले शारिरीक रुपमा सोचे जस्तो बिकास हुन सकेन । ९ बर्षको उमेर सम्म पनि उनीआफ्नो खुट्टामा उभिएर हिड्न सकिनन् । उनी ८ बर्षको हुँदानहुदै बुबा दिल्ली बसाई सरी आउनु भएको थियो रे, निकै बेरको सोचाई पछि बताउछिन् उनी । हुने हार, दैब नटार भने झै हजुरआमाको काख छोडेर माया आफ्नो बाबासंगै दिल्ली आईन् । मायाका बाबाले अर्काे आमा विवाह गर्नुभयो ।
उनी करिव १५,१६ बर्षकी थिईन्, शरीर पोलियोले गर्दा अपाङ्ग भएकोले आफ्नो जीवनमा नैराश्यता र अन्धकार वाहेक केही देख्दैनथिन् । नेपालबाट दिल्लीमा मजदुरी गर्न गएका श्री भीम बहादुर श्रेष्ठ उनको जीवनमा गोरेटो बनेर भित्रिए । बैवाहिक दाम्पत्य जीवनको पहिलो ९ महिना दिल्ली मै बसे । त्यस पछि भीमसंगै आफ्नो कर्म घर नेपाल छिरिन उनी । तर सोचे जस्तो भएन केही व्यापार व्यवसाय गरेर जीविका चलाउन भीम र माया गाँउबाट बन्दिपुर बजारमा आई डेरा गरी बस्न थाले । न खाना पकाउने भाँडाकुडा थियो न अन्नपात नै । बन्दीपुरकै एउटा पसलबाट खाना पकाउने भाँडाकुडा उधारोमा किनेर पेटपाल्ने उपाय खोजे । साधन थियो न साध्य दिनभरि गिटी कुटनु सिवाय केही थिएन विकल्प । दुबै जना गिटी कुट्थे । एक बोरा गिटीको १२ रुपैया आउथ्यो । यसै क्रममा उनको श्रीमान्ले त्यहीको बोडिङ्ग स्कुलमा पालेको काम पाए । जीवनले अलि राहत पाए जस्तो भयो । तर त्यो अनुभुति मात्र थियो । आफ्नो दुःख आफैसंगै थियो ।
बि.स.२०५४ साल कार्तिकमा छोरीको जन्म भयो । एउटा अपाङ्ग महिला सुत्केरी हुनुको पिडा उनी बताउन सकिनन् । कुरा गर्दा गर्दै उनको आँखाबाट बरर्र आँशु झर्न थाले । उनीहरु २ बाट अव ३ भए श्रीमान्को कमाई त्यही हो गुजारा वाहेक केही हुदैनथ्यो । त्यसैले उनी आफै पनि सकेको केही आम्दानीको बाटो खोज्नु पर्यो भनी उपाय खोजिन् । उनी हिडडुल गरेर भारी बोक्ने काम गर्न सक्दैनथिन् । २०५५ मा जसो तसो जोगाएको रु. १६०/– लगानी गरेर बन्दिपुरको टुडिखेलमा चना,पाउरोटी,चाउचाउ राखेर ब्यापार शुरु गरिन् जुन बसी बसी गर्न सकिन्थ्यो । दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर मलाई अझै दुःख दे भने झै उनलाई भगवानले लगातार ३ छोरा र ३ छोरी दिए तर कुनै बचाउन सकिनन् उनले । छोरा नजन्माएको निहुमा श्रीमान्बाट समेत अनेक शारिरीक तथा मानसिक यातना सहनु प¥यो उनले । जे जस्तो पिडा र कठिनाईहरु भोग्नु परे पनि उनी जीवनबाट कहिल्यै हरेस खाईनन् । समस्याहरुसंग मुकाविला गर्दै गईन् र बन्दीपुर टुडिखेलको व्यापारमा निरन्तरता दिई रहिन् । २०६४ सालमा त्यती बेला सम्म मायाले रु. ५५,०००/– रुपैया जम्मा गरी सकेकी थिईन् । चितवनमा एउटा घडेरी खरीदको गर्न बैना पनि दिईन् तर दुर्भाग्य पुरा रकम भुक्तानी गर्न नसकेको कारण सो बैना रकम समेत डुबेछ । कुवा भित्रको भ्यागुता जति उफ्रे पनि कुवामा भने झै उनी पहिले जहाँ थिईन् फेरी त्यही पुग्यो उनको आर्थिक हैसियत । २०६५ सालको आश्विन महिनामा मायालाई फेरी प्रशव पिडाले छोयो । यहाँ उपचार संभव भएन । उनलाई भरतपुर मेडिकल कलेज पु¥याइयो । परिणाम बच्चा त जन्म्यो तर फेरी पनि जीवीत रहेन । ३ दिनको सुत्केरी शरिर मात्र लिएर फर्किन उनी पुनःबन्दिपुर । छिमेकीले सुनाए छन् बन्दिपुर हस्पिटलमा एउटा अनाथ बच्चा छरे । उनलाई के खोज्छस कानो आँखा भनेझै भयो । उनी हस्पिटलमा गई त्यो बच्चाको जिम्मा लिई आफ्नै छोरा मानेर हुर्काइ बढाई गर्दैछिन् अहिले ।
यसै क्रममा २०६६ साल माघ तिर मुक्तिनाथ बिकास बैंकको डुम्रे शाखाबाट लघुवित्त कार्यक्रम संचालन गर्न कर्मचारी पुग्छन् र समुहमा बसेर तालिम लिई बचत तथा कर्जाको कारोबार गर्न पाईन्छ भन्ने सूचनाको आधारमा उनमा पनि सामेल हुने ईच्छा जागेछ । तर अपाङ्ग र आफ्नो सम्पत्ती केही नभएको मान्छेलाई बैंकले कर्जा दिन्छ होला भन्ने आश रहेनछ । तै पनि एक पटक सोधी हेरौं न भनेर आफ्नो कुरा बैंक कर्मचारीलाई सुनाईन् । बैंक कर्मचारीले पनि यो कार्यक्रम तपाईहरु जस्ता कै लागि हो भने पछि उनको खुसीको सीमा रहेन । अब समूहमा बसेर कर्जा बचतको कारोवार गर्न पाईने भयो, आफ्नो व्यापारमा लगानी बढाउन पाईने भयो भनेर । समुहमा बसेको दोश्रो महिनामा मायाको कर्जालिने पालो आयो । संस्थाको नियमानुसार घरको अभिभावक संरक्षक बस्नुपर्ने । उनले श्रीमान्लाई साँक्षी बस्न भनिन् तर श्रीमान्ले पनि विश्वाश गर्नु भएन रे । घर, जग्गा, सुनचांदी राख्दा त कर्जा पाउदैनन् मान्छेले । हामी जस्ता गरिबलाई त झन् ऋण दिदैनन् बैंकले जम्मा रु. ६००/– जम्मा गरेको भरमा कहिरु.२०,०००/–लगानी गर्छ बैंकले भनेर बिश्वास नै गर्नु भएको थिएन । २०६६/११/०५ गतेको दिन रु.२०,०००/– हातमा पर्दा मायाको हात कापेको थियो रे, बिपना हो वा सपना, कल्पनामा कही कतै छोएर मात्र फेरी फिर्ता गर्नुपर्ने हो कि भन्ने लागेको थियो । उनी थप्छिन् “मेरा आँखाबाट आंशुनै खसेको थियो, मैले नै बुझिन त्यो आँशु खुशीको थियो कि बिस्मात्को” ।
पहिलो कर्जाबाट एउटा घुम्टी भाडामा लिएर उनले चिया पसलको लागि ग्याँस र ग्याँस चुल्हो, केही चिया नास्ता पकाउने सामान तथा पसलको किराना सामान किनिन् र रु. २५००/– किस्ताको लागि रकम जोहो भनेर नगदै राखिन् । नियमित र अनुशासित कर्जाको किस्ता बुझाउँदै गईन् र आफ्नो जीवनमा पनि परिवर्तन महशुस गर्दै गईन् । दोश्रो कर्जा लिएपछि बीचमा बिशिष्ठ सदस्य विशेष कर्जा रु. २५,०००/– पनि लिईन् । त्यो पैसा अघिल्लो बर्ष सुत्केरी हुने बेलामा साहुबाट सयकडा ३ मासिकका दरले लिएको ऋण रु. ४०,०००/– मध्येको बाँकी साँवा रु. १९,५००/–मा ब्याज बढाउँछु भने पछि सोही ऋण तिर्न प्रयोग गरिन् र बाँकी रकम त्यही पसलमा लगानी गरिन् । यसै गरी नियमित रुपबाट किस्तामा कर्जा चलाउँदै आफ्नो ब्यवसाय पनि बढाउँदै गईन् । हालसम्म मायाले साधारण र बिशिष्ठ गरि जम्मा रु. २,५५,०००/– कर्जा सफल रुपबाट संचालन गरी सकिन् । आफ्नो ब्यावसाय सुचारु गरी रहेकी छिन् । कर्जा सँगै आफ्नो ब्यावसाय त बढाएकी छन् नै सँगै बचत पनि राम्रैसँग गरिरहेकी छिन्, समूह, ब्यक्तिगत तथा पेन्सन बचत गरी मुक्तिनाथमा उनले लगभग रु. २५,०००/– जम्मा गरी सकेकी छन् भने मुक्तिनाथ कै आधुनिक बैकिङ्ग तिर पनि खाता खोलेर रकम जम्मा गरेकी छिन् भने स्थानीय सहकारीमा मासिक रु. २,०००/– जम्मा गर्दै रु.३३,०००/– भईसकेको बताउछिन्। दुई जना बच्चालाई बिना कन्जुस्याई स्कुलमा राम्रैसँग पढाई रहेकी छिन् । आज आएर उनले आफ्नो पेशालाई परिवर्तन गरेकी छिन् । हिजो बाटामा चिया, चटपटे बेच्ने माया आज कोठा भाडामा लिएर किराना पसल तथा मन्दिरमा चटपट ब्यापार गरी रहेकी छिन् भने श्रीमान्ले पसलमा परिवारलाई सघाउँदै आई रहेका छन् ।
तथा मन्दिरमा चटपट ब्यापार गरी रहेकी छिन् भने श्रीमान्ले पसलमा परिवारलाई सघाउँदै आई रहेका छन् ।
हिजो र आजमा मायामा आमुल परिवर्तन आएको कुरा स्वयं माया बताउनु छिन् । श्रीमान्ले रक्सी खाने गरेकोमा छोरा ल्याए पछि रक्सी खान छोडेको, भबिष्यलाई जोहो गर्नुपर्छ भनेर छोरीको बिवाहका लागी भनेर अहिलेबाटै एक तोला सुन किनेर राखिसकेको, साथै बिभिन्न भाँडाकुडा अहिले बाटै जोडेर राखिसक्नु भएको छ भने दोकानमा फ्रिज पनि राखी सकेकी छिन् । घरमा रंगिन टि.भि., पलङ्ग २ वटा र शुरुमा एक वटा कम्वल समेत नरहेकोमा हाल ३ वटा कम्मल तथा केही सिरकहरु समेत जोडी सकेकी छिन् । जसबाट उनमा हिजोको माया र आजको मायामा धरै अन्तर आएको कुरा स्वयं आफू ढुक्कसँग बताउन सक्छिन् । हिजो र आजमा हेर्दा पनि प्रष्ट देखिन्छ । जीवनमा संघर्ष गर्नु पर्छ सफलता हुदै जान्छ भन्ने कुराको एउटा उदाहरण माया बनेकी छिन् । भगवानले भन्छन रे “तँ आँट् म पुरयाउँछु” अनि “सुख सँधै मेहनेतीको घरमा मात्र हुन्छ” जो आज मायाको जीवनलाई हेर्ने हो भने पनि ती उखानको पुष्ट्याई हुन्छ ।